काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार संचालन गरेको भेटिएको छ । आयोग मूख्यालयसँगै रहेको परिसरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गरिरहेका छन् ।
कार्कीले शुक्रबार कर्मचारीको विदेश भ्रमण सम्बन्धी निर्णय गरेको स्रोतले बतायो । निलम्बन हुनुअघिको मिति राखेर कार्कीले कर्मचारीहरु कोरिया पठाउने सूची स्विकृत गरेका हुन् । फाइल लिएर अख्तियारका सहसचिब बेगेन्द्र शर्मा पौडेल कार्कीको निवास पुगेका थिए ।
कार्कीको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण फाइल र प्रमाणका कागजात निवासमा पुर्याइएको स्रोतले बतायो । अधिकांश ठूला, संवेनशील र महत्वपूर्ण मुद्दाका अनुसन्धान अधिकृतले सोझै प्रमुख आयुक्त कार्कीलाई ब्रिफिङ गर्थे ।
‘प्रमुखको निजी सचिबालयमा अहिले खासै कुनै कागजात छैन’, स्रोतले भन्यो, ‘सबै ओसारेर निवासमा पुर्याइएको छ ।’
कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएपछि पनि आलोचक र विरोधीमाथि निगरानी र गोप्यताको जासुसी गर्न प्रयोग भएको टीम झनै सक्रिय भएको स्रोतले बतायो ।
स्रोतका अनुसार यसबीचमा कतिपयको फोन ‘कल डिटेल’ हेर्ने र म्यासेजका विवरण तान्ने काम भइरहेको छ । यस्ता विवरण टंगाल परिसरस्थित कार्कीकै निवासमा पुर्याइन्छ ।
-कान्तिपुरबाट